काठमाडौँ - राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
अर्यालले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी थिइन् भने बिपक्षी दलहरुले कुनै मनोनयन दर्ता गराएका थिएनन् ।
अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्दै अध्यक्ष तिमिल्सिनाले निर्विरोध निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
त्यसअघि बैठकमा अर्यालका प्रस्तावक राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकलाई अघि बढाउन सरकार प्रतिपक्षी सवै मिलेर राष्ट्रिय सहमति निर्माण गर्दै अघि बढ्नुपर्ने बताए ।