काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।
स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ ।
कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ ।