इजरायलमा आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । प्यालेस्टाइनी हमास समूहले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए । आइतवार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उनले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले बताए । इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि डाँडीको परिवार बेचैन थियो । प्रवीण खतरामुक्त रहेको बताइएको छ । प्रवीण परिवारका कान्छा छोरा हुन । सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषि विज्ञ (सेलेक्टिभ) टोलीमार्फत ११ महिनाका लागि उनी इजरायल गएका थिए । बीएस्सी एजी पढेर गत भदौ २३ गते प्रवीण इजरायल गए । उच्च शिक्षा हासिल गरेर नेपाल आएर केही गर्ने सोच बनाएको छोरा आउनुअघि नै विदेशमा आक्रमणको शिकार हुँदा आफूहरू ठूलो पीडामा रहेको परिवारले बताएका छन् ।