विद्युत प्राधिकरणको गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा 

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताएका हुन् । उनले आर्थिक वर्ष ०७७र७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८र७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९र८० मा नाफा घटेको बताए । 

निर्देशक घिसिङले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताए । उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको उल्लेख गरे । 

निर्देशक घिसिङले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताए । उनले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताए । निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।