काठमाडौँ - राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी परिणामको सुन बरामद गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिँदै उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो ।
ढुङ्गानाका अनुसार उक्त सुन हङकङबाट आएको खुलेको छ । यो घटनाका बारेमा थप अनुसन्धान जारी रहेकाले बिहिबारसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाइ छ ।
त्यसअघि, विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको बताएका थिए । ।
प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । यो सबै सामान चार दिन अगाडि हङकङबाट प्यासिफिक एयरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको प्रवक्ता खनालको भनाइ छ ।