बागमतीमा आज मन्त्रिपरिषद् विस्तार

 काठमाण्डौँ - बागमती प्रदेशको मन्त्रिपरिषदले सरकार पुनःगठनको ५७औँ दिनमा पूर्णता पाउने भएको छ । भागबन्डा विवाद ४ जेठमा मिलेसँगै आज  थप मन्त्रीहरू नियुक्त हुँदैछन् । तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर १० चैतमा प्रदेश सरकार पुनःगठन भएको थियो ।

करिब दुई महिनामै प्रतिपक्षको बेञ्चबाट सत्तामा आइपुगेको कांग्रेस र एकीकृत समाजवादीले १० चैतमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएका थिए । दोस्रो पटक विश्वासको मत पाएसँगै सरकारको नेतृत्व गरिरहेका जम्मकट्टेललाई मन्त्रिपरिषद् विस्तारमा निकै कठिनाइ भएको छ ।