‘गाउँ आएको बाटो’ जापानको ओसाका शहरमा रिलिज हुने

ओसाका, जापान ।  नवीन सुब्बाको निर्देशन रहेको फिल्म गाउँ आएको बाटो जुलाई ७ को आईतबार जापानको ओसाका शहरमा प्रदर्शनमा आउने भएको छ। नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबु छोराको सम्बन्धमा नव–निर्मित बाटोले ल्याएको उतार–चढावको कथामा निर्माण भएको फिल्म ओसाकामा रहेका नेपालीहरुले पनि हेर्न पाँउने भएका छन। 

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको जापानको ओसाका शहरको मिनातो सिभिक सेन्टर बेन्तेन्च्योमा बेन्तेन्च्यो एफसी क्लबले रिलिजको तयारी गरीरहेको छ । प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलको यात्रापछि नेपालमा समेत राम्रो प्रर्दशन गरिरहेको फिल्म गाउँ आएको बाटो जापान पनि रिलिजमा आउन लागेको हो। टिकटको लागि ओसाकामा रहेका नेपाली किराना पसल तथा रेष्टुरेन्टहरुमा पाईने बेन्तेन्च्यो एफसी क्लबका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।

गाउँ आएको बाटो फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक नवीन सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् भने दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।