images

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको कठिन बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ । एफसी बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै तालिकामा एक अंक थपेको हो ।
बर्नमाउथले घरेलु मैदानमा १६ औं मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ३६ औं मिनेटमा सेन्सीको पासमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो ।
१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो । ६५ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले तालिकामा एक एक अंक जोडेका छन् । 
युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ । जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रिमियर लिग अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुने छ । यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला आमने सामने हुने छन् । 
 

आइतबार​ १ बैशाख २०८१ ०९:३४ AM मा प्रकाशित

प्रतिक्रिया