काठमाडौँ - आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । सुपर सिक्समा पुग्न आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि रहेको छ ।
खेल शनिबार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ । समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न आज नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन्। दुई खेलमा एकएक जित निकालेका छन् ।
विश्वकप छनोटको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका तीन खेलमा पराजित हुँदै सुपर सिक्सको दौडबाट बाहिरिएको छ।
जिम्बावे र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन् । समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित नेपालले सुपर सिक्सका लागि अन्तिम खेलको प्रतिक्षा गर्नु परेको हो ।